सरस्वती आधारभूत विद्यालयमा विद्यालय पोशाक वितरण कार्यक्रम

महाकवि देवकोटा क्याम्पस अन्तर्गत बी.बी.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना साथै अतिरिक्त क्रियाकलाप शाखाको सहआयोजनामा मिति २०८२/११/१४ गतेका दिन सुनवल नगरपालिका वडा नं.२ मा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जुत्ता मोजा तथा विद्यालयको पोशाक वितरण गरिएको छ ।
सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोहन बहादुर थापा क्षेत्रीको अध्यक्षता, सुनवल नगरपालिका वडा नं.२ का वडाध्यक्ष राजेन्द्र यादवको प्रमुख आतिथ्यता, सुनवल नगरपालिका शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेको विशेष आतिथ्यता रहेको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका प्रधानाध्यापक रोशनी यादव, महाकवि देवकोटा क्याम्पसमा अध्यापनरत शिक्षक शिक्षिका,  विद्यालयका शिक्षक शिक्षिका, महाकवि देवकोटा क्याम्पस अन्तर्गत बी.बी.ए. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु, सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु गरी ८६ जनाको सहभागिता रहेको थियो ।
महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदायप्रति क्याम्पसको सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बालविकासदेखी कक्षा पाँचसम्म अध्ययन गर्ने ३२ जना विद्यार्थीहरुलाई  जुत्ता, मोजा तथा विद्यालयको पोशाक वितरण गरिएको थियो ।
उक्त अवसरमा प्रमुख अतिथि यादवले महाकवि देवकोटा क्याम्पसले आफ्नो वडामा रहेको विद्यालयलाई छनौट गरेर विद्यार्थीहरुको हौसला बढाउने कार्य गरेकोमा सम्पूर्णलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विशेष अतिथि गोतामेले महाकवि देवकोटा क्याम्पसले यस्तो सामाजिक कार्य गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
जुत्ता, मोजा तथा विद्यालयको पोशाक वितरण कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जि.सी.ले देवकोटा क्याम्पसले सामाजिक उत्तरदायित्व पूरा गर्न वृद्धवृद्धालाई कपडा वितरण, बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा न्यानो कपडा  वितरण, अशक्त अपाङ्गहरुलाई राहत सामग्री वितरण,  स्वास्थ्य शिविर, रक्तदान, जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने विचार व्यक्त गर्नुभयो । सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष क्षेत्रीले सदरमुकाम नजिकै भएर पनि धेरै जनाको नजर नपुगेको यो विद्यायलमा आएर क्याम्पसले यस्तो सराहनीय कार्य गरेकोमा विद्यालय व्यवस्थापन समितिको तर्फबाट कार्यक्रममा सहभागी विद्यार्थी साथै क्याम्पसलाई धन्यवाद दिनुभयो । उक्त कार्यक्रममा बी.बी.ए. प्रथम सेमेस्टरमा अध्ययनरत छात्रा हेमा शर्माले सहजीकरण गर्नु भएको थियो ।